चैत पूर्णिमाको अघिल्लो दिन आज बौद्ध महाचैत्य (बौद्धनाथ स्तुप) मा तेमाल जात्रा मनाइँदै छ । यो जात्रा तामाङ समुदायको सबैभन्दा ठूलो धार्मिक तथा सांस्कृतिक पर्वमध्ये एक हो । मृतक आफन्तको आत्मालाई चिरशान्ति मिलोस् भन्ने कामनासहित यो परम्परा प्राचीन कालदेखि नै चलेको छ ।
तेमाल क्षेत्र (काभ्रेपलाञ्चोक) का तामाङ समुदायबाट सुरु भएको यो जात्रालाई वि.सं. १८१९ मा तेमालका अन्तिम तामाङ राजा रिञ्जिन दोर्जे बल (वा रिन्जिल दार्जे बल) ले राजकीय चाडको मान्यता दिएका थिए । राजाले आफ्ना जनतालाई यो जात्रा सम्पन्न गर्न पठाउने गरेको जनश्रुति छ ।राजाका कोही आफन्तको मृत्यु भएपछि उनीहरूको आत्मशान्तिका लागि तेमालबाट बौद्धमा आएर छ्योमि (बत्ती) बाल्ने प्रचलन सुरु भएको मानिन्छ । पछि यो रीत देशभरिका तामाङ तथा बौद्ध धर्मावलम्बीले अपनाए ।
बौद्ध धर्मअनुसार यो पर्व पितृ उद्धार सँग जोडिएको छ । परिवारमा मृत्यु भएपछि घरमा अस्तु राखेर बत्ती बाले जस्तै, चैत्र पूर्णिमामा बौद्ध र स्वयम्भूमा विशेष पूजा गरेमा मृतकको आत्माले शान्ति पाउने र स्वर्ग पुग्ने विश्वास छ ।
यिनै ऐतिहासिक तथ्यहरूका आधारमा हरेक वर्ष चैत्र पूर्णिमाको दिन मृतकहरूको आत्माको सम्झनामा बत्ती बाल्ने र मोलम पाठ गर्ने परम्परा रहेको छ । बत्ती बाल्ने काम सकिएपछि दुःख बिर्सन गाउँगाउँबाट आएका महिला तथा पुरुषहरूबीच तामाङ मौलिक फापारे गीत गाउने र रमाइलो गर्ने चलन छ ।
जात्रा कसरी मनाइन्छ ?
चैत पूर्णिमाको अघिल्लो दिन: बौद्ध महाचैत्यमा रातभरि जाग्राम बस्ने, मृतकको नाममा छ्योमि बाल्ने र गुरुद्वारा पूजापाठ गर्ने । दाहिने घुम्दै १०८ खोपामा रहेका बुद्धमूर्तिसमक्ष बत्ती बालिन्छ ।
चैत्र पूर्णिमा: बालाजु बाइस धारामा स्नान गरी स्वयम्भू महाचैत्यमा छ्योमि बालेर पूजा गर्ने । यसपछि मात्र जात्रा पूर्ण हुने विश्वास गरिन्छ।
बौद्ध धर्मको पात्रअनुसार १२ ल्हो ९जीवजन्तुको चक्र परिक्रम गर्ने क्रममा चरा वर्षको यस दिन बौद्धनाथ र स्वयम्भूमा प्रार्थना गरे शान्ति मिल्ने र मनोकामना पूरा हुने जनविश्वास छ। बौद्ध धर्म–संस्कृतिको सबैभन्दा ठूलो मेला तेमाल जात्रा रहेकाले यस मेलालाई नेपालको पहिलो जात्राका रुपमा मान्नेहरुको पनि कमी छैन।
प्राचीन समयमा काभ्रेको तेमाल क्षेत्रबाट सुरु भएको यो राजकीय चाड अहिले देशभरिका तामाङ तथा बौद्ध धर्मावलम्बीले मनाउँछन् । भारत, भुटान, म्यानमार लगायतका देशबाट पनि श्रद्धालु भक्तजन बौद्ध र स्वयम्भू आउने गर्छन् ।
यो पर्व तामाङ जातिको धार्मिक, सांस्कृतिक पहिचान र राजकीय इतिहास को जीवन्त प्रतीक बनेको छ । तेमालका अन्तिम राजा रिञ्जिन दोर्जे बलको योगदानले यो जात्रा सदियौँदेखि निरन्तर जीवित रहन सकेको हो । जय तेमाल जात्रा🙏
