दाबी नगरेको भोटो
नेपालको सांस्कृतिक इतिहासमा धेरै पुराना कथाहरू छन् जुन हाम्रा मातापिताले बचपनमा सुनाउँथे। ती मध्ये एक रोचक र रहस्यमयी कथा हो -भोटो जात्राको कथा । यी कथाहरू केवल रमाइला मात्र होइनन्, यिनीहरू हाम्रो धर्म, परम्परा, र सामाजिक सोचसँग गहिरो रूपमा गाँसिएका छन्।
प्रत्येक वर्ष जावलाखेलमा मनाइने यो जात्रा केवल एक भोटो देखाउने समारोह होइन, यो कथा हो नाग, भूत, राजा, वैद्य र देवताको अनौठो भेटघाटको – जुन सुन्दा लाग्छ, कस्तो कमालको काल्पनिकता! तर, यिनै कथाले त हो हाम्रो संस्कृति यति रंगीन बनाएको।यो कथा नेपालको धार्मिक विश्वास, सांस्कृतिक परम्परा र देवी-देवताहरूसँगको घनिष्ठ सम्बन्धलाई झल्काउँछ।
टौदहका नाग र चमत्कारी वैद्य
कथा सुरु हुन्छ टौदहबाट, काठमाडौँ उपत्यकामा रहेको टौदह नामक स्थानमा एक जोडी नाग दम्पती बस्थ्यो। उनीहरूको राजा थिए कर्कोटक नाग , जसको आफ्नो नागिनीको आँखा एकदिन खराब हुन थाल्यो। नागराजले उनको उपचारका लागि भक्तपुरमा रहेका एक ज्यापू (वैद्य)लाई खोजेर ल्याए।
वैद्यले नागिनीको आँखामा चमत्कारी मलम लगाएर उपचार गरे। नागिनी स्वस्थ भई दुबैले वैद्यलाई धेरै पुरस्कार दिए, जसमा एउटा झलझली झल्कने मणि जडित भोटो पनि थियो। त्यो भोटो धेरै खास थियो – जसलाई लगाएर वैद्यले खुब खुशीको साथ लगाएर हिँड्न थाले !मणि जडित भोटो भएकोले ,जसलाई लगाएपछि वैद्यले ढल्कँदै हिँड्नुपर्ने अवस्था हुन्थ्यो!त्यो भोटो यति सुन्दर थियो कि वैद्य जहाँ जान्थे, सबैको ध्यान त्यहीँ पुग्थ्यो।
भूतको लोभ र भोटोको चोरी
एकदिन वैद्यले भोटो फुकालेर आलीमा राखेर खेत खन्न थाले। त्यही बेला भूतले भोटो चोरेर लग्यो। वैद्यले भूतको पछि लागे, तर समात्न सकेनन्।
त्यतिबेला पाटनमा मच्छिन्द्रनाथको जात्रा चलनमा थियो। उपत्यकावासी र भूतप्रेतहरु पनि जात्रा हेर्न आउँथे। त्यो भोटो चोर्ने भूत पनि जात्रामा आउँछ कि भनेर ज्यापू त्यहाँ आइपुगे । नभन्दै झल्झली झल्केको भोटो लगाएर भूत जात्रा हेर्न आएको रहेछ । त्यो भूत झिलिक्क देखिएर मिलिक्क हराउँथ्यो । बल्लतल्ल वैद्यले पछाडिबाट भूतका पाखुरामा च्याप्प समाते । उनले भूतसँग आफ्नो भोटो मागे । भूतले दिन मानेन । दुवैका बीच ठूलो झगडा भयो ।
गुणकामदेव राजाको न्याय र भोटोको नासो
राजा गुणकामदेव पनि मच्छिन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न त्यहाँ आएका थिए । राजाका भारदारले ती दुवैबीच ठूलो झगडा भएपछि राजाका अगाडि हाजिर गराए।
भूतले भने: "यो मेरो हो!"
वैद्यले भने: "नागराजले दिएको हो!"
राजाले सोच्नुभयो – प्रमाणबिना कसलाई दिने? अनि निर्णय भयो – “भोटोलाई मच्छिन्द्रनाथको पुजारीलाई नासोका रूपमा राख!”
त्यसपछि वैद्यले नागराजलाई साक्षी ल्याउने भने। वैद्यले कर्कोटक नागलाई भेटेर साक्षीका लागि अनुरोध गरे। नागले आफू जात्रामा साक्षी बन्न आउने बताए। "म आउँदा हुरी चल्नेछ, म अरुभन्दा अग्लो पनि देखिने छु," भने नागराजले।
जात्राको दिन राजा गुणकामदेव पनि त्यहाँ आए । एक छिन हुरी चल्यो तर वैद्यले हुलमा अरुभन्दा अग्लो मान्छेलाई ठम्याउन सकेनन् । राजाले त्यो कसको भोटो हो भनी मच्छिन्द्रनाथ रथका चारै कुनाबाट देखाउने आज्ञा दिए तर साक्षी प्रमाणहसहित त्यो भोटो लिन कोही पनि अघि सरेनन्। त्यसपछि भोटोलाई नासोका रूपमा मच्छिन्द्रनाथको पुजारीलाई राख्न आदेश भयो । यसरी भोटो जात्राको शुरुवात भयो।
भोटो जात्रा – प्रदर्शनको परम्परा
अहिले पनि हरेक वर्ष जावलाखेलमा 'भोटो जात्रा' मनाइन्छ। भोटोलाई सार्वजनिक रूपमा प्रदर्शन गरिन्छ। जात्राको प्रमुख आकर्षण भनेकै त्यो पुरानो झलमल्ल भोटो हो। कसैले अहिलेसम्म "यो मेरो हो" भनेर दाबी गरेको छैन।
टौदहमा नागराजलाई निमन्त्रणा
हरेक वर्ष मच्छिन्द्रनाथ को जात्रा सुरु हुनुअघि टौदहमा गई जात्रामा सहभागी हुन आउनु भनी कर्कोटक नागराजलाई निमन्त्रणा गर्ने चलन अहिले पनि कायम छ । यसका लागि मच्छिन्द्रनाथका पुजारीहरू टौदह गई एउटा पातको टपरीमा चामल र सानो सुपारीसहित नेपालभाषामा लेखिएको निमन्त्रणापत्र राखेर टौदहमा बगाउने गरिन्छ ।
टौदहका स्थानीयहरूका अनुसार, भोटो जात्राको दिन अरुतिर पानी नपरे पनि टौदहमा पानी पर्ने गर्छ। यो नागराजले भोटो हेर्न दहबाट निस्केको मानिन्छ।
भोटो जात्रा नेपाली संस्कृति, श्रद्धा र ऐतिहासिक परम्पराको एक महत्वपूर्ण अंश हो। यो कथा भूत, नाग, मानिस र देवताको आपसी सम्बन्धलाई झल्काउँछ। यो नेपालको धार्मिक विविधता र सांस्कृतिक विरासतको प्रतीक हो।
#दाबीनगरेकोभोटो
#भोटोजात्रा #मच्छिन्द्रनाथ #कर्कोटकनाग
#BhotoJatra #NepalHeritage #RatoMachhindranath
