आस्था, परम्परा र प्रकृतिसँगको सम्बन्ध
अनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम्।
शङ्खपालं धृतराष्ट्रं तक्षकं कालियं तथा॥
एतानि नव नामानि नागानां च महात्मनाम्।
सायङ्काले पठेन्नित्यं प्रातःकाले विशेषतः॥
तस्य विषभयं नास्ति सर्वत्र विजयी भवेत्।
हिन्दु धर्म र सनातन संस्कारमा नागपञ्चमी केवल नागको पूजा गर्ने दिन मात्र होइन, प्रकृति, पानी, जीवजन्तु र हाम्रो पुरानो सांस्कृतिक विश्वासप्रति सम्मान व्यक्त गर्ने पर्व पनि हो। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीमा नागका अष्टकुल,अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्खको विशेष पूजा गरिन्छ।
काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत विभिन्न नागदह, कुण्ड, पोखरी तथा नागस्थानमा विशेष पूजा गरिन्छ। दूध, अक्षता, दुबो, खीर, रोटी लगायतका परिकार चढाएर नागको पूजा गर्ने चलन छ।
यस दिन खेतबारी खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जीवलाई नमार्ने मान्यता पनि छ। वर्षायाममा सर्पहरू बढी सक्रिय हुने भएकाले यस परम्पराले मानिसलाई सर्प र अन्य जीवजन्तुप्रति सावधानी र सहअस्तित्वको सन्देशसमेत दिएको देखिन्छ।
नागपञ्चमीसँग जोडिएका धेरै किंवदन्तीमध्ये किसान र नागिनीको कथा निकै चर्चित छ।
कथाअनुसार एक किसान खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्छन् र ती बच्चा मर्छन्। आफ्ना बच्चा मरेको देखेपछि नागिनी क्रोधित हुन्छिन्। उनले किसानलाई मात्र होइन, किसानकी श्रीमती र दुई छोरालाई समेत मारिदिन्छिन्।
तर किसानकी छोरी घरबाहिर भएकाले बाँच्न सफल हुन्छिन्। नागिनीले उनलाई पनि भेटेर मार्न खोज्दा किसानकी छोरीले आफ्नो गल्ती नभएको भन्दै अनुनय–विनय गर्छिन्। उनले नागिनीको पूजा गर्ने र दूध चढाउने वाचा गर्छिन्।
उनको भक्तिबाट प्रसन्न भएकी नागिनीले वर माग्न भनेपछि किसानकी छोरीले आफूलाई होइन, आफ्ना मृत माता, पिता र दाजुभाइलाई पुनर्जीवन दिन आग्रह गर्छिन्। नागिनीले उनको प्रार्थना स्वीकार गर्छिन् र किसानको परिवार जीवित हुन्छ।
यही घटना श्रावण शुक्ल पञ्चमीका दिन भएको विश्वासका आधारमा यस दिन नागपूजा गर्ने र घरको ढोकामा नागको चित्र टाँस्ने परम्परा सुरु भएको किंवदन्ती पाइन्छ।
नागपञ्चमीसँग जोडिएको अर्को प्रसिद्ध कथा राजा परीक्षित र तक्षक नागसँग सम्बन्धित छ।
तक्षक नागको डसाइबाट राजा परीक्षितको मृत्यु भएपछि उनका छोरा जन्मजयले प्रतिशोध लिन संसारका सबै सर्प नष्ट गर्ने उद्देश्यले महायज्ञ सुरु गरेको कथा धार्मिक ग्रन्थहरूमा पाइन्छ।
यज्ञको अग्निमा एकपछि अर्को गर्दै सर्पहरू पर्न थाले। तक्षक नाग भने देवराज इन्द्रको शरणमा पुगेका थिए। यज्ञको प्रभाव बढ्दै जाँदा तक्षक इन्द्रसहित यज्ञस्थलतर्फ तानिन थाले।
त्यसपछि मानसदेवीका पुत्र आस्तिक ऋषिले जन्मजयसमक्ष अनुरोध गरेपछि उनले सर्पयज्ञ रोक्ने निर्णय गरेको कथा छ। यसरी सर्पहरूको विनाश रोकिन्छ।
यो कथाले प्रतिशोधभन्दा क्षमा, सहअस्तित्व र जीवनको संरक्षण ठूलो कुरा हो भन्ने सन्देश दिएको रूपमा पनि व्याख्या गर्न सकिन्छ।
हिन्दु धार्मिक परम्परामा नागको सम्बन्ध विभिन्न देवीदेवतासँग जोडिएको छ।
भगवान् शिवले नागलाई आफ्नो गलामा धारण गरेको चित्र हामीले देख्दै आएका छौँ। भगवान् विष्णु भने शेषनागको शैयामा क्षीरसागरमा शयन गरेको वर्णन पाइन्छ। भगवान् गणेशको एक हातमा समेत नाग देखाइन्छ।
त्यस्तै, विष्णुको अवतारका रूपमा मानिने श्रीरामका भाइ लक्ष्मण र श्रीकृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतार मान्ने धार्मिक विश्वास छ।
श्रीकृष्णको बाल्यकालसँग जोडिएको कालीनाग दमनको प्रसङ्ग पनि नागसँग सम्बन्धित प्रसिद्ध कथा हो। बौद्ध र जैन परम्परामा समेत सर्प वा नागका आकृतिले धार्मिक तथा सांस्कृतिक महत्व राख्छन्।
नागपञ्चमीसँग जोडिएको अर्को रोचक प्रसङ्ग गुरु गोरखनाथ र नागसँग सम्बन्धित छ।
कथाअनुसार गुरु गोरखनाथले नौ नागलाई आसन बनाएर बाह्र वर्षसम्म तपस्या गरेका थिए। नागहरू थिचिएर रहेका कारण पानी नपरेको र त्यसपछि उनका गुरु मत्स्येन्द्रनाथलाई बोलाइएको धार्मिक कथा छ।
गुरु मत्स्येन्द्रनाथ आएको देखेपछि गोरखनाथ उठे र नागहरू मुक्त भए। त्यसपछि वर्षा भएको विश्वास गरिन्छ। यो कथा पनि नाग, वर्षा र पानीबीचको सांस्कृतिक सम्बन्ध देखाउने एउटा रोचक उदाहरण हो।
नागका विभिन्न नाम र स्वरूपमध्ये नागपञ्चमीमा विशेषगरी आठ नागको पूजा गर्ने परम्परा छ: अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख।
यी नागको पूजा गरी घरको ढोकामा नागको तस्वीर टाँस्दा घरमा सुख, शान्ति र समृद्धि आउने तथा नाग र अन्य प्राकृतिक विपत्तिबाट सुरक्षा हुने विश्वास गरिन्छ।
नागपञ्चमीमा धार्मिक आस्था छ, किंवदन्ती छन्, पुराणका कथा छन् र प्रकृतिसँग जोडिएको सांस्कृतिक ज्ञान पनि छ। कसैका लागि यो भगवान् शिव र विष्णुसँग जोडिएको आस्थाको पर्व हो। कसैका लागि वर्षा र पानीसँग सम्बन्धित परम्परा हो। कसैका लागि नाग तथा सर्पजस्ता जीवको संरक्षणको सन्देश दिने दिन हो।
समय बदलिँदै जाँदा पर्व मनाउने शैली पनि बदलिन सक्छ। तर यसको मूल भावना प्रकृतिप्रति सम्मान, जीवप्रति सहअस्तित्व र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक परम्पराको संरक्षणलाई भने अझ अर्थपूर्ण बनाउन सकिन्छ। नागको पूजा गर्नु भनेको केवल एउटा धार्मिक परम्परा निभाउनु होइन, प्रकृतिमा रहेका हरेक जीवको आफ्नो स्थान र महत्व स्वीकार गर्नु पनि हो।
