श्रीकृष्णको वचन: “ऋतूहरूमा म वसन्त हुँ”
फागुनलाई “वसन्त ऋतु” को महिना भनिन्छ । यो महिनामा प्रकृति पूरै हराभरा हुन्छ । रुखहरूमा नयाँ पात पलाउँछन्, फूलहरू फुल्छन्, हावा मीठो र सुगन्धित हुन्छ र मौसम न्यानो तथा रमाइलो बन्छ । फागुन भनेको रङ्ग, खुशी, फूल र उत्सवको महिना हो । यो महिनाले हामीलाई सम्झाउँछ जीवन पनि वसन्त जस्तै रङ्गीन र सुन्दर बनाउन सकिन्छ ।
नेपाली संस्कृतिमा फागुनको विशेष महत्व छ । यो महिनामा हामी होली पर्व मनाउँछौं । रङ्गहरूको उल्लास, साथीभाइसँगको हाँसो, मीठा मीठा पकवान र रमाइलो मौसमले सबैलाई उमंगले भरिदिन्छ । जाडोको कठिन समयपछि यो वसन्तले नयाँ आशा जगाउँछ । रुखका हाँगाहरूमा हरिया पातहरू फुट्छन्, बगैंचामा रातो, पहेँलो, गुलाफी फूलहरूले सजाउँछन् । चराहरूले मीठो स्वरमा गीत गाउँछन् । यो दृश्यले हामीलाई सिकाउँछ कि कठिन समयपछि पनि जीवनमा नयाँ अध्याय सुरु हुन सक्छ ।
भर्खरै सम्पन्न २१ गतेको चुनावले पनि देशमा यस्तै नयाँ वसन्तको संकेत गरेको छ । चुनावको परिणामले स्पष्ट देखाएको छ कि नेपाली जनताले नयाँ मोड खोजिरहेका छन् । नयाँ पार्टीहरू उदय भएका छन्, युवा जोश र उमंग बोकेका सांसदहरू संसदमा पुगेका छन् । पुराना दलहरूको एकाधिकार तोडेर नयाँ शक्तिहरूले आफ्नो उपस्थिति जनाएका छन् । यो ठ्याक्कै फागुनको वसन्त जस्तै हो जसरी जाडो पछि नयाँ पात र फूलहरू फुट्छन्, त्यसैगरी राजनीतिमा पनि नयाँ कलिला पातहरू फुटेका छन् ।
हामी आशा गरौं कि यो फागुन महिनाले जसरी प्रकृतिलाई खुशी दिन्छ, देशले पनि नयाँ मोड लिनेछ । नयाँ गति लिनेछ । नयाँ खुसियाली ल्याउनेछ । युवा सांसदहरूको जोश, नयाँ पार्टीहरूको नयाँ विचार र जनताको आशाले देशलाई फूलझैं फुल्न दिनेछ । रितु जस्तै फूल फुल्नेछ र फल दिनेछ । जसरी वसन्त ऋतुले रुखलाई नयाँ जीवन दिन्छ, त्यसैगरी यो चुनावले देशको राजनीतिलाई नयाँ जीवन दिनेछ । विकासका नयाँ आयोजनाहरू सुरु हुनेछन्, युवाहरूको लागि रोजगारीका अवसरहरू बढ्नेछन्, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ ।
फागुनको यो रङ्गीन महिनामा हामीले सम्झनुपर्छ,परिवर्तन सधैं सम्भव छ । जसरी फूलहरूले आफ्नो रङ्गले संसारलाई सुन्दर बनाउँछन्, त्यसैगरी हाम्रा नयाँ नेतृत्वले पनि देशलाई सुन्दर, समृद्ध र खुसी बनाउन सक्छन् । हामी सबैले मिलेर यो नयाँ वसन्तलाई सही अर्थमा उपयोग गर्नुपर्छ । आफ्नो जीवनलाई पनि रङ्गीन बनाऔं, देशलाई पनि रङ्गीन बनाऔं ।नेपाली राजनीतिमा वसन्त छाइसकेछ। नयाँ सांसदहरू नयाँ सपना लिएर आएका छन्।
हिन्दू धर्मग्रन्थ भगवद्गीता मा भगवान श्रीकृष्णले भनेका थिए – "ऋतूहरूमा म वसन्त हुँ।" यो वाक्य केवल प्रकृतिको सुन्दरता मात्र होइन, आशा, नवजीवन र परिवर्तनको प्रतीक पनि हो। नेपालको राजनीतिमा देखिएको यो नयाँ संकेतले पनि त्यही सन्देश दिन्छ परिवर्तन सम्भव छ, प्रकृतिले जस्तै हामीले पनि पुरानो काँडा फालेर नयाँ पालुवा पलाउन सक्छौं।तर वसन्तसँगै कहिलेकाहीँ आँधीबेहरी पनि आउँछन्। त्यसैले परिवर्तनलाई स्थायी बनाउन जिम्मेवार नेतृत्व, पारदर्शिता र जनताको अपेक्षाप्रति संवेदनशीलता आवश्यक हुन्छ। यदि नयाँ नेतृत्वले जनताको भरोसा कायम राख्न सकेन भने यो वसन्तको बहार पनि छोटो हुन सक्छ।हामी आशा गरौं कि यो परिवर्तनले देशलाई सकारात्मक दिशा दिनेछ।
